जलवायु परिवर्तनले हिमालमा पारेको असरबारे पर्वतीय महोत्सवमा चिन्ता

पाेखरा | मंसिर २५, २०८०

जलवायु परिवर्तनले हिमालमा पारेको असरबारे पर्वतीय महोत्सवमा चिन्ता

पोखरा: पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमालमा परिरहेको असरबारे पोखरामा बहस भएको छ । पोखरामा जारी आठौं पर्वतीय महोत्सवका अवसरमा सोमबार ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ ?’ विषयमा बहस भएको थियो । 


बहसमा डब्लुडब्लुएफका नेपाल प्रतिनिधि डा घनश्याम गुरुङ, इसिमोडकी डा अमिना महर्जन र पत्रकार कुन्द दिक्षितसँगै जलवायुसम्बन्धी अध्येता जगन्नाथ अधिकारी वक्ता थिए । बहसमा सहभागी वक्ताहरुले पछिल्लो समय तीव्र रुपमा भइरहेको जलवायु परिवर्तनले तापक्रम उच्च हुँदा हिमालमा हिउँ कम पर्ने र छिटो पग्लिने समस्या देखिन थालेको सुनाए ।


विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)का नेपाल प्रतिनिधि डा घनश्याम गुरुङले पछिल्लो समय जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा हिमाल कालो हुँदै गएको बताए । ‘अहिले हामीले तलबाट माथि धुवाधुलो पठाउँदैछौं । यसले पनि हिउँ पग्लिने क्रम एकदमै बढेको देखिन्छ,’ उनले भने, ‘त्यसमाथि माथिल्लो भेगसम्म पानी पर्न थालेको छ । पानी परेपछि हिउँ झनै छिटो पग्लिन्छ ।’


पत्रकार कुन्द दिक्षितले पछिल्लो समय जलवायु परिवर्तनका नाममा हिउँँ र बरफमा मात्रै विषय केन्द्रित भएको बताए । उनले हिउँ र बरफ पग्लिँदै जाँदा निकट भविष्यमै पानीको ठूलो संकट देखिन सक्ने सुनाए ।


‘यसलाई जलवायु परिवर्तन नभनौं, संकट भनौं । यो संकट पानीको हो,’ दिक्षितले भने, ‘पानीमै हाम्रो मानव जीवन र सभ्यता आश्रित छ । हिमालमा हिउँ पग्लिनेबित्तिकै तल्तिरका भेगमा ठूलो असर पार्छ ।’ उनले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न नवीकरणीय ऊर्जाको प्रयोग बढाउँदै लैजानुपर्ने सुनाए ।


डा जगन्नाथ अधिकारीले जलवायु परिवर्तनका कारण पछिल्लो समय मौसम पूर्वानुमान गर्नै मुस्किल रहेको सुनाए । उनले जलवायु परिवर्तनले गर्दा जनजीवन नै असर गरिरहेको बताए । 


अर्की वक्ता डा अमिना महर्जनले जलवायु परिवर्तनले गर्दा हिमाली जनजीवनमात्रै नभएर कृषि उत्पादनै समस्या पार्न थालेको बताइन् । पछिल्लो समय बाली भित्राउनेबेला पर्ने बेमौसमी पानीले किसानलाई ठूलो मर्कामा पारिरहेको सुनाइन् ।


‘जलवायु परिवर्तनले कृषि, पर्यटन र स्वास्थ्यमा ठूलो च्यालेन्ज छ । नेपालका हिमाल हेर्न आएका विदेशी पर्यटकहरु मौसममा पनि हिमाल देख्न पाउँदैनन्,’ डा महर्जनले भनिन्, ‘यो प्रभाव बढ्नेबाहेक घट्नेवाला छैन । सरकारले यो विषयमा आवाज उठाएकै छैन ।’


वक्ता डा घनश्याम गुरुङले भने पानीका स्रोत नबचाई हाइड्रो ऊर्जालाई मात्रै महत्व दिन नसकिने बताए । पानीको अत्याधिक प्रयोग गर्ने तर, पुनःसिञ्चित नगर्दा केही दशकपछि नै पानीको हाहाकार हुन सक्ने दाबी गरे ।


कार्यक्रममा सहभागी वक्ताहरुले पछिल्लो समय घटिरहेका घटनालाई जलवायु परिवर्तनलाई देखाएर राज्य उम्किन नमिल्ने भनाइ राखे । जलवायु परिवर्तन अहिले विश्वभरकै प्रमुख समस्या भएकाले अब जलवायुअनुकूल जीवनशैलीबारे बहस हुनुपर्ने सुझाव राखे । 


आयोजक नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले हिमाली भेगसँग पर्वतीय पर्यटनको जीवन पनि जोडिएकाले वातावरण संरक्षणमा अब अरुको मुख ताकेर बस्ने अवस्था नरहेको बताए । उनले पर्वतीय क्षेत्रमा फोहोर हुन नदिन संस्थाका तर्फबाट अभियान र तालिमहरु सञ्चालन गरिरहेको जानकारी दिए । 


शुक्रबारबाट सुरु भएको महोत्सव मंगलबार सकिँदैछ । महोत्सवमा पर्वतीय जनजीवन र कीर्तिमानी आरोहीबारे डकुमेन्ट्री देखाइएको महोत्सवकी सदस्य सचिव निर्मला न्यौपानेले जानकारी दिइन् । महोत्सवका अवसरमा ३ दिनसम्म आर्चरी, जिपलाइन खेलसमेत समावेश गरिएको थियो ।


महोत्सवमै नेपाल पंक्षी  संरक्षण संघसँगको सहकार्यमा ‘साइलेन्ट बर्डस’ नामक गिद्ध संरक्षणबारे जनचेतनामूलक नाटक पनि देखाएको छ । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्